Mountain Heart Nepal

औषधि बोकेर भूकम्प प्रभावित क्षेत्र चहार्दा…-डा. अबन गौतम

This article was published on: 04/25/16 9:58 PM


औषधि बोकेर भूकम्प प्रभावित क्षेत्र चहार्दा…-डा. अबन गौतम

एक वर्षअघि आएको भूकम्पले नेपालमा धेरै जनधनको क्षती भयो । भूकम्पका कारण लडेका संरचनाहरुले धेरै घाइते भए । लगातारको परकम्पनले मानिसहरुमा मानसिक तनाव सिर्जना गर्यो । भूकम्प लगत्तै अस्पतालमा घाइतेहरुको भिड बढ्यो । हामी एमबिबिएसको पढाई सकेर इन्टर्नसिपको तयारीमा थियौँ । अस्पतालमा घाइतेको भिडपछि हामी निरन्तर उपचार सेवामा खटियौँ । तर, मलाई स्वास्थ्य संस्थामा आउन सक्नेको मात्र उपचार गरेर पुग्दैन भन्ने लाग्यो । मसँगै अन्य साथीहरुलाई पनि त्यस्तै लागिरहेको रहेछ ।

 

भूकम्पले घाइते बनाएका धेरै मानिसहरु चोटपटक र समस्या लिएर गाउँमै बसेका छन् । उनीहरुले समयमा उपचार नपाएमा गम्भीर समस्या निम्तिन सक्छ भन्ने हामीलाई लाग्यो । त्यसपछि हामी प्रभावित क्षेत्रका गाउँमा सञ्चालित क्याम्पमा जान थाल्यौँ । त्यसक्रममा हामीले धेरैको पिडा देख्यौँ । धेरैलाई उपचार सेवा प्रदान गर्नुपर्ने अवस्था देखियो । र, हामी साथिहरु नै मिलेर एउटा माउन्टेन हर्ट नेपाल नामक संस्था गठन गर्यौ । हामीले प्रभावित जिल्लाका सुगम क्षेत्रमा भन्दा पनि दुर्गम र ग्रामिण भेगका जनतालाई उपचार सेवा दिने निर्णय गर्यौ । सुगम क्षेत्रका र स्वास्थ्य संस्था नजिक भएका क्षेत्रका मानिसहरुले सहजै उपचार पाउन सक्छन् । तर, टाढा टाढा गाँउका मानिसले उपचार सेवा पाउँदैनन् भनेर हामीले उक्त निर्णय गरेका थियौँ ।

भूकम्पपछि घाइतेको चोटपटकमा मात्र हामीले मनमा लागेको चोटमा समेत मलम लगाउनु पथ्र्याे । लगातारको कम्पन र त्यती ठूलो विपत्तिपछि धेरैमा मानसिक समस्या पनि देखिएको थियो । त्यसका लागि हामीले मनोपरामर्शदाता तथा विज्ञ चिकित्सकहरुको टिम समेत लिएर जाने गरेका थियौँ । उपचारका क्रममा हामीले धेरैका टुटेका हड्डी जोड्यौँ, घाउमा मल्हम लगायौँ । ठोक्किएका अंगहरुमा मालिस गर्यौ । औषधि दिनेदेखि गरिब परिवारलाई ठूला अस्पतालमा शल्यक्रिया गर्नका लागि आवश्यक पर्ने रकम समेत दियौँ । भूकम्पपछिको हालसम्मको अवधिमा भूकम्पबाट अति प्रभावित जिल्लामध्ये ९ वटा जिल्लाका २० भन्दा बडि स्थानमा हामीले स्वास्थ्य शिविरहरु चलाएका थियौँ । उक्त शिविरमा हामीले १५ हजार भन्दा धेरैलाई उपचार सेवा दिन सक्यौँ । भूकम्पका घाइतेमात्र होइन दीर्घ रोग भएका बिरामीको समेत उपचार गर्यौं ।

 

शिविर लिएर जाने क्रममा दोलखामा हामीले बिच बाटोमा एक जना मानिस रगताम्मे भएर लडिरहेको भेटेका थियौँ । दोलखाको हावा भन्ने ठाउँमा ती मानिस बेहोस अवस्थामा थिए । उनको शरिरको एउटा भागमा खुकुरी प्रहार गरिएको थियो । सदरमुकाम चरिकोटबाट ५/६ घण्टा टाढा उक्त स्थानमा लडेका ति व्यक्तिलाई हामीले शिविर चलाउने स्थानमा लग्यौँ । हामीसँग भएका स्रोतसाधनबाट उपचार गर्यौ । मध्यरातमा खुकुरी प्रहारबाट घाइते भएका ति मानिस रगतले भिजेर झिँगा भन्किरहेको अवस्थामा बिहान हामीले भेटेका थियौँ । करिब ३ बजेतिर उनले पिसाब फेर्न सके । स्वास्थ्यमा सुधार आयो र उनलाई चरिकोटमा थप उपचारका लागि हामीले पठायौँ । अहिले उनी निको भैसकेका छन् ।

राजधानीबाट निकै नजिक रहेको ओखरपौवामा समेत हामीले शिविर लगेका थियौँ । डम्पिङ साइड क्षेत्रमा मानिसले उचित उपचार पाउन नसकेको जानकारी पाएपछि हामी त्यहाँ पुगेका थियौँ । नभन्दै त्यहाँको अवस्था निकै नाजुक थियो । मानिसहरुका सबै घर लडेका थिए । टहरो राख्ने जमिन समेत थिएन । जसका कारण उनीहरु भत्किएको संरचनामा नै पाल बेरेर बसेका थिए । जथाभावी दिसापिसाब गरिएको थियो । गाउँ नै गन्हाइरहेको थियो । काठमाडौंबाट नजिकै भएर पनि मानिसहरुले घाउको उपचार गरेका थिएनन् । धेरैको घाउ पाकेको थियो । चोटपटकमा औषधि लगाइएको थिएन । हाम्रो टिमले उनीहरुलाई उपचार दिनुका साथै पोषणयुक्त खानेकुरा र झुल समेत बाँड्यौँ । दुःखमा डुबिरहेका उनीहरुको अनुहारमा थोरै भए पनि मुस्कान फर्कियो । हामीले त्यहाँका बालबालिकालाई तनाव र डरबाट मुक्त गराउन सांगित कार्यक्रमहरु समेत गरेका थियौँ । नाँच्दै गाउँदै बालबालिकालाई हसाउन सफल भयौँ ।

 

शिविर लिएर हामी निकै दुर्गम क्षेत्रमा समेत पुगेका छौँ । नुवाकोटको घ्याङफेदीस्थित सिसिपु भन्ने स्थानमा समेत हामी शिविर लिएर गयौँ । उक्त स्थानमा हिँडेर जान नै ७ दिन लाग्छ भन्ने हामीलाई स्थानीयले जानकारी दिएका थिए । हामी त्यहाँ हेलिकप्टरमा गएका थियौँ । त्यहाँ कुनै पनि मेडिकल टिम पुगेको थिएन । भूकम्प गएको दुई महिनापछि हामी पुग्दा त्यहाँका मानिसको भाँचिएका हड्डी आफैँ जोडिसकेका थिए । उपचार नै नगरी जोडिएका हात तथा खुट्टाहरु बाङ्गा भएका थिए भने दुःखाईका कारण मानिसहरु रोइरहेका थिए । भाँचिएको हातका हड्डी उपचार नै नगरि जोडिएका कारण दायाँबायाँ घुमाउन समेत नमिल्ने भएको रहेछ । शरिरमा लागेको चोटको उपचार नहुँदा घाउँहरु पोकेका थिए । हामीले उनीहरुलाई उपचार दियौँ । शल्यक्रिया गर्नुपर्नेलाई रिफर गर्यौँ । धेरै रकम खर्चिनु पर्नेलाई छुटको व्यवस्था गर्नेगरी काठमाडौंका अस्पतालमा आउने व्यवस्था गर्यौँ ।

हाम्रो शिविरका क्रममा हामीले चोटपटक, टुटेका हड्डीलाई मात्र जोडेनौँ । तनावमा रहेका र राहतको अभावमा टुटेको मन लिएर बसेकालाई समेत जोड्ने काम भयो । धेरैका आँशुलाई हाँसोमा परिणत गर्न सफल भयौँ । उपचारका क्रममा लामो समयदेखी हड्डी र जोर्नीका समस्या भएकालाई अकुपन्चर सेवा समेत दियौँ । सरकारी उपचार सेवा नपुगेको स्थानमा हामी पुगेर उपचार सेवा दिँदा गाँउलेहरुले आशिर्वाद प्रदान गरे । उहाँहरुको आशिर्वादले हामीलाई थप हौसला प्रदान गरेको छ । पिडित क्षेत्रको उपचारको हाम्रो यो यात्रा अझै पनि जारी रहनेछ ।

तर, दुर्भग्य भूकम्पको एक वर्षसम्म पनि सरकारले पिडित परिवारलाई पाल र टहोरोबाट माथि ल्याउन सकेन । विस्तारै बढ्दै गएको गर्मी र वर्षातले पिडित परिवारमा थप अर्को पिडाले सताउँछ कि भन्ने डरले सताइरहेको छ ।सरकारले यो विषयमा तत्कालै केही निर्णय र कदम नचालने हो भने पिडित परिवारमा सरुवा रोग तथा अन्य किराजन्य रोगले सताउन सक्छ । यो विषयमा सरकारले उचित कदम चालिहाल्नुपर्छ । सँगसँगै हामीले पनि आफ्ना स्थानबाट यो क्षेत्रमा काम अगाडी बढाउने छौँ ।